Social Icons

Related Posts Plugin for WordPress, Blogger...

Friday, July 6, 2012

अनियमितताप्रति सरोकारवालाको चासो, तुलसीपुर नगरपालिका भ्रष्टाचार काण्ड

गोकर्ण पौडेल
तुलसीपुर, असार २१ । तुलसीपुर नगरपालिकामा भएका आर्थिक अनियमितताका घटनाहरु एकपछि अर्को गर्दै  धमाधम सार्वजनिक हुन थालेपछि सरोकारवाला निकायले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । रिपोर्टर्स क्लव दाङ शाखाले बिहीबार तुलसीपुरमा आयोजना गरेको ‘आर्थिक अनियमतितामा हाम्रो चासो’ विषयक साक्षात्कार कार्यक्रममा बोल्दै तुलसीपुर क्षेत्रका सरोकारवालाहरुले नगरपालिकाभित्र भएको आर्थिक अनियमितताको यथासिघ्र छानविन गर्न माग गरेका छन् ।
तुलसीपुर नगरभित्र भएको अनियमितताको बारेमा सहभागीहरुले सत्यतथ्य छानबिन गर्न नगरपालिकालाई आग्रह गरेका थिए । कार्यक्रममा सहभागी तुलसीपुरका सरोकारवालाले भ्रष्टाचार ठूलो सानोभन्दा पनि त्यसको न्यूनीकरणका लागि दोषीमाथि कारवाही हुनुपर्ने बताएका थिए । कार्यक्रममा तुलसीपुर नगरपालिकाका पूर्व मेयर ढुण्डिराज लामिछानेले फूलबारीको डम्पिङ्ग साइड खरिद प्रक्रिया त्रुटिपूर्ण भएको दावि गर्नुभयो । पूर्वमेयर लामिछानेले घटनाको छानविन गर्नका लागि प्रमुख जिल्ला अधिकारीबाट पहल शुरु गरिनु पर्ने सुझाव दिनुभयो । त्यसैगरी उहाँले वातावरण सरसफाई सम्वन्धी सार्वजनिक भएको भ्रष्टाचारका विषयमा नगरपालिकाले आन्तरिकरुपमा छानविन गरी त्यसका आधारमा वास्तविकता सार्वजनिक गरिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत नोखिराम वलीले डम्पिङ्ग साइडको जग्गा खरिद प्रकरण आफू आउनु भन्दा पहिले घटेको हुँदा यस विषयमा आफूले फाइल अध्ययन गरी रहेको जानकारी दिनुभयो । उहाँले वातावरण शाखा प्रमुखबाट गरिएको भनिएको आर्थिक अनियमितताका सम्वन्धमा आफ्नो अध्ययन शुरु भएको जानकारी दिनुभएको थियो । अध्ययनकै क्रममा गत असारदेखि माघ महिनासम्ममा कुनै अनियमितताको प्रमाण फेला पार्न नसकेको जनाउँदै कार्यकारी अधिकृत वलीले अध्ययनका क्रममा कसैबाट आर्थिक अनियमितता भएको पाइएमा कसैलाई पनि नछोड्ने जनाउनु भयो । ‘वातावरण प्रमुखबाट १६ महिनाको भ्रष्टाचार भएको खबर सार्वजनिक भएको अवस्थामा ७ महिनासम्मको मात्रै अध्ययन गर्न भ्याएको हुँदा अहिले नै केही भनिहाल्न सकिदैन’– वलीले भन्नुभयो ।
सर्वदलीय बैठकबाट नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएको भोलिपल्ट संयोजकबाट स्वास्थ्यको कारण देखाउँदै जिम्मेवारी   अस्विकार गरेपछि विभिन्न निकाय र ब्यक्तिको राय सुझावको आधारमा आफैले छानबिन शुरु गरेको वलीले जानकारी दिनुभयो ।’
कार्यक्रममा नेपाली कांग्रेसका माधव लामिछाने, नेकपा एमालेका केशव सापकोटा र नेकपा माओवादीका प्रदीप वलीले तत्कालीन समयमा गठित राजनीतिक संयन्त्रले डम्पीङ्ग साइड फुलबारीमा उपयुक्त भएकाले खरिदका लागि निर्णय गरेको बताउनुभयो । तर, कति र कुन दररेटमा खरिद भयो, आपूmहरुले थाहा नपाएको उहाँहरुले जानकारी दिनुभयो । रिपोर्टर्स क्लव दाङ शाखाका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय यातायात ब्यवसायी महासंघका सचिव सुरेश हमाल, तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विमल रिजाल, मानवअधिकार तथा शान्ति समाज दाङ शाखा सभापति सुशील बस्नेत, गोरक्ष राष्ट्रिय दैनिकका प्रकाशक एवं मानवअधिकारकर्मी तेजबहादुर कार्की र पत्रकार संगीत वस्यालले आर्थिक अनियमिताका विषयमा छानबिन शुरु गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रमको सहजीकरण सचिव विमल गौतमले गर्नुभएको थियो ।
यसैबीच तुलसीपुर नगरपालिकाको अगुवाइमा टिकरीमा निर्माण गर्न लागेको कल्भटको अनुगमन तथा निरीक्षण गरिएको छ । नगरपालिकाका कार्यकारी अधिकृत नोखिराम वलीको नेतृत्वमा गएको राजनीतिक दल, पत्रकार, नगरपालिकाका कर्मचारीहरुको संयुक्त टोलीले निर्माणाधीन कल्भटको निरीक्षण गरेको हो ।     टोलीले कल्भट स्टिमेट अनुसार निर्माण भएको ठहर गरेको छ । नगरका सुचना अधिकृत झरेन्द्र खरेलले दिएको जानकारी अनुसार कल्भटको निर्माण कार्य १५ प्रतिशत बाँकी रहेको ठहर गरेको छ । केही दिनअगाडि स्टिमेट अनुसार काम नभएको भन्दै समाचार प्रकाशन भएको थियो । कल्भर्ट तुलसीपुर नगरपालिका–८ टिकरीको समी खोलामा निर्माण हुन लागेको छ ।